काठमाण्डौं १, चैत । एमालेका बरिष्ट नेता माधव नेपाल र झलनाथ खनालले अध्यक्ष ओली पक्षले गरेको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई आग्रह गरेकै दिन अध्यक्ष ओलीले आइतबार नेपाल र खनाललाई फकाउन चियापानको निम्तो पठाउनु भएको छ ।
नेकपा एमालेभित्रको विवादले गहिरो रुप लिँदै गरेको अवस्थामा अध्यक्षओलीले असन्तुष्ट पक्षलाई चियापानको निम्तो पठाउनु भएको हो। ओलीको सचिवालयले नेपाल–खनाललगायत शीर्ष नेताहरुलाई चैत्र ३ गतेका लागि चियापानको निम्तो पठाएको हो ।
माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलाको अघिल्लो दिनका लागि बालुवाटारमा चियापानको आयोजना गरिएको हो ।
ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत शीर्ष नेताहरुलाई चियापानको निम्तो पठाउनु भएको हो । आगामी ७ गतेका लागि ओलीले बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाउनु भएको छ ।