गोरखा १, चैत । गोरखाका प्रमुख जिल्ला अधिकारी शालीग्राम पौडेलले मानवसेवा आश्रम गोरखालाई नगद २० हजार सहयोग उपलब्ध गराएका छन् । असाहाय, अभिभावक बिहिन तथा सडक मानवको उद्धार गरि पालनपोषण गर्दै आएको आश्रमलाई शनिबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी पौडेलले आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
प्रजिअ पौडेलले आफ्नो हैसियत अनुसार अरु दिनमा पनि सहयोग उपलब्ध गराउदै जाने भन्दै पहिलो पटक आफ्नो मासिक तलबको आधा रकम सहयोग उपलब्ध गरेको बताउनुभयो । यसैबिच आश्रमले गोरखा जिल्लामा आएका नयाँ प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीलाई स्वागत गरेको छ ।
आश्रमको सदरमुकाममा रहेको कार्यालयमा शनिबार प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र सस्शत्रका प्रहरी नायव उपरीक्षकलाई एक कार्यक्रम गरी स्वागत गरिएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी शालीग्राम पौडेल शर्मा, जिल्ला प्रहरी गोरखाका प्रहरी नायब उपरिक्षक प्रकाश दाहाल र शसत्र प्रहरी बल गोरखाका प्रमुख राजेन्द्र अधिकारीलाई अभिभावक शिततलकाजी मास्केले खादा ओडाएर सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले गोरखा आएर पहिलो पटक गोरखाकाली माताको दर्शन गर्नु भन्दा आश्रममा आएर बालबालिकाको दर्शन गर्दा पुण्य मिल्ने भन्दै आफु गोरखा जिल्लामा रहदा आश्रमका लागि आवश्यक कुनै पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।