गोरखा २२, फागुन। गोरखाको गण्डकी गाउँपालिकामा शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि दुईदिने तालिम सम्पन्न भएको छ । पालिका भित्र कक्षा ४ र ५ मा अध्यापन गराउदै आएका सामुदायिक शिक्षकहरुलाई तालिम प्रदान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सुदिप पन्तले जानकारी दिनुभयो ।
तालिममा गण्डकी प्रदेश राष्ट्रिय परीक्षा बोर्डका उपसचिव नवराज पौडेल, गण्डकी प्रदेश शिक्षा बिकास निर्देशनालयका शाखा अधिकृत दिपेन्द्र परियार लगायतले सहजीकरण गर्नुभएको थियो । करुणा फाउण्डेशनको सहयोगमा भएको तालिममा पालिका भित्रका ४१ जना शिक्षकहरुको सहभागिता रहेको शिक्षा अधिकृत पन्तले बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्नुहदै गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले अभिमुखीकरण तालिमबाट सिकेका बिधालयमा लागू गर्न आग्रह गर्नुभयो । शिक्षक समाजको ऐना भएको भन्दै उहाँले तालिममा हासिल गरेका सिकाईलाई लागू गर्न सकेमात्र सिकाईको उपलब्धी हुने बताउनुभयो ।
उपाध्यक्ष अधिकारीले गाउँपालिकाले शिक्षा क्षेत्रका बिकासका लागि योजनाबद्ध ढंगले काम गरिरहेको भन्दै प्राबिधिक शिक्षाको बिकासमा जोड दिनुपर्ने अहिलेको आबश्यकता रहेको औल्याउनुभयो ।