काठमाण्डौं २१ फागुन । नेपाली कांग्रेस बरिष्ट नेता रामचन्द्र पौडेलले नेकपाको प्रचण्ड–माधव समूहको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा सकारात्मक सकिने बताउनु भएको छ । व्यवस्था र संविधान नै जोखिममा पारेकाले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने उहाँले बताउनुभयो ।
‘कांग्रेसकै नेतृत्वमा हुनुपर्छ भन्ने छैन । यदि यस्तो भयो भने कांग्रेस अरूको खेलौना भएर भूमिकाविहीन हुन सक्छ । देशको अहिलेको संकट अरूलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसका लागि प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिन्छ,’ प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भन्नुभयो।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रतिनिधिसभामा कांग्रेससँग एकचौथाइ सिट नभएको र अरूसँग मिल्नुपर्ने भएकाले सरकारमा जाँदा पनि कसरी र किन जाने भन्ने विषयमा औचित्य पुष्टि गर्नुपर्ने पौडेलको भनाइ छ ।
कांग्रेसले आफ्नो हैसियतअनुसार जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्दै उहाँले अहिलेको संकटबाट देश र व्यवस्थालाई पार लगाउने जिम्मेवारी कांग्रेसबाहेक अरूसँग नभएको बताए ।
पौडेलले आफू प्रधानमन्त्री र राष्ट्रपति पदको आकांक्षी नभएकोसमेत बताउनुभयो ।