काठमाण्डौ ४, फागुन । म्यान्मारमा सैनिक कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई २० वर्षसम्मको जेल सजाय हुन सक्ने सेनाले चेतावनी दिएको छ । सैन्य नेतृत्व प्रति “घृणा वा अवहेलना“ फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको छ । म्यान्मारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको छ ।
सेनाले गरेको कू विरुद्ध पछिल्लो समय म्यान्मारका सर्वसाधारण सडकमा उत्रिएका छन् । उनीहरूले आफ्नै निवासमा नजरबन्दमा रहेकी नेत्री आङ सान सू चीको रिहाइ र प्रजातन्त्रको पुर्नबहालिको माग गरिरहेका छन् । गत सोमवार सू चीका वकिलले उहाँलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिएका छन् ।
उहाँमाथि गैरकानुनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने वाकिटकी राखेको लगायतका आरोप लगाइएको छ । त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।