काठमाण्डौ ३, फागुन । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपाल र श्रीलङ्कामा भारतीय जनता पार्टी (भाजपा) को सरकार बनाउने अमित साहको योजना रहेको खुलासा गर्नुभएको छ । इस्ट मोजोमा प्रकाशित रिपोर्टका अनुसार साहले शनिबार त्रिपुराको भ्रमणका क्रममा रवीन्द्र शतवार्षिकी भवनमा आयोजित पार्टी कार्यक्रममा साहले सो कुरा बताएको देवले दाबी गर्नुभएको हो । देवका अनुसार भारतका सबै राज्यमा भाजपाको सरकार बनाएपछि छिमेकी राष्ट्रमा पनि भाजपा सरकार बनाउने साहको योजना रहेको छ ।
‘हामी राज्यको गेस्ट हाउसमा छलफल गरिरहँदा भाजपाको उत्तरपूर्वी जोनल सेक्रेटरी अजय जमवालले भाजपाले भारतको धेरै राज्यमा सरकार बनाएको जिकिर गर्नुभएको थियो । जवाफमा साहले अब श्रीलङ्का र नेपाल बाँकी भएको बताउनुभयो । हामीले नेपाल र श्रीलङ्कमा पनि पार्टी विस्तार गर्नुपर्छ,’ देवलाई उद्धृत गर्दै इस्ट मोजोले लेखेको छ ।
अमित साहको नेतृत्वमा भाजपाले कम्युनिस्टको रेकर्ड तोड्दै विश्वकै सबैभन्दा ठूलो पार्टी बनेको उहाँको दाबी थियो । विपक्षी दलहरुले भाजपाको केन्द्रीय नेतृत्वसँग मुख्यमन्त्रीको विवादास्पद सार्वजनिक अभिव्यक्तिबारे स्पष्टिकरण माग गरेका छन् । सीपीआई (एम) का नेता जितेन्द्र चौधरीले मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रको कुनै ज्ञान नभएको बताउनुभयो । देवले दाबी गरे अनुसार अमित साहको भनाइ सत्य हो भने त्यो बाह्य मुलुकमा भारतको हस्तक्षेप हुने जिकिर उहाँले गर्नुभयो ।
चौधरीले गृहमन्त्री साह नेपालविरुद्ध राज्यद्वारा सञ्चालित षड्यन्त्रमा संलग्न रहेको पनि आरोप लगाए र यसको प्रमाण संवैधानिक पद धारण गरेको व्यक्तिले नै दिएको बताउनुभयो । उहाँले देवको भनाइलाई हल्का ढंगले लिन नसकिने बताउँदै यस विषयमा भाजपाको शीर्ष नेतृत्व र प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिनुपर्ने माग गर्नुभयो। द वायरबाट