काठमाण्डौ । नेकपा प्रचण्ड –नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुल्चिन सकिन्छ भन्ने भ्रममा रहेको बताउनुभएको छ । प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि बताउनुभयो । पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले इतिहासका महान सहिदहरु कहिल्यै नमर्ने बताउनुभयो ।
हजारौं सहिदहरु मरे भनेर प्रतिक्रियावादी सत्ताधारीहरुले यदि सोचेका छन् भने ती साह्रै ठूलो भ्रममा छन्, अध्यक्ष प्रचण्डले भन्नुभयो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, देशमा राजनीतिक स्थायित्व र विकास तर्फ लैजाने जमर्को गरे पनि दक्षिणपन्थी कित्ताबाट प्रहार भएको प्रचण्डले बताउनुभयो । युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौं । शान्तिलाई हामीले संविधानसभामा रुपान्तरण ग¥यौ, संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण ग¥र्यौ , तर अहिले त्यही ऐतिहासिक पहलकदमी माथि प्रहार भएको छ, प्रचण्डले भन्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री भएको बेला आफूले जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि केही प्राविधिक कमजोरी भएकाले अहिले सम्म सो निर्णयले औपचारिकता पाउन नसकेको प्रचण्डले बताउनुभयो ।