हेटौंडा ३०, माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा भित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको झगडा भएको आरोप लगाउनु भएको छ । शुक्रबार मकवानपुरको मनहरी गाउँ पालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश निर्माणको बिषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिको निमित्त झगडा गरेर मुलुकलाई बर्बादिको अँध्यारो सुरुङ्गमा फसाएकोमा आक्रोश ब्यक्त गर्नुभएको हो ।
नेकपा र नेपाली काङ्ग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस किङ्कर्तब्य बिमुख र निरीह रहेको समेत बताउनुभयो । थापाले मुलुकमा अहिले भ्रष्टाचार , कुशासन, धर्मपरिबर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रुपमा देखिएको बताउदै लोकतन्त्रको लागि अब कहिल्यै लड्नुपर्दैन, राजा हटायसी लोकतन्त्र मजबुत हुन्छ भन्नेहरु नै आज लोकतन्त्रमाथी खतरा भयो भन्दै कराउदै हिडेको दावी गर्नुभयो ।
राजसंस्था बिकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यबहार र चरीत्रमा प्रजातान्त्रिक हुनुपर्नेमा जोड दिनुभयो । धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२र०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गर्नुभयो। राप्रपालाई काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राष्ट्रबादी शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले आग्रह गनुृभयो ।