काठमाडौं, २२ माघ । संवैधानिक अंगहरुमा हिजो नियुक्त भएका कतिपय पदाधिकारीहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको चाहना अनुसार भएको खुलिसकेको छ । कुनैबेला देउवाले आइजीपी बनाउन खोजेर नसकेका पूर्व एआइजी जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिश हुँदा नै देउवाले घुमाउरो राजनीतिक खेल खेलेको आँकलनहरु भएका थिए ।
पछिल्लो समय संसद पुनःस्थापनाको पक्षमा नदेखिएका देउवा चुनावमा जान जोडबल गर्दैछन् । उहाँ वाध्यतावश मन नलागी नलागी ओलीको विरोध गरेजस्तो मात्र गरिरहनु भएको छ । आन्तरिक रुपमा उहाँ ओलीसँग मिलेर अगाडि बढ्नु भएको छ। ओली ताजा जनादेशमा जान जोडबल गरिरहनु भएको छ । देउवाको चाहना पनि त्यही हो । दुवैको चाहना मिलेको छ । दुवै दृश्य अदृश्य तरिकाले मिलेर बढिरहेका छन् ।
ओलीले बहुमतको सरकार सञ्चालन गर्दा पनि देउवाले भित्री रुपमा साथ दिनुभएको थियो। उहाँले कतिपय राजनीतिक नियुक्तिमा पनि आफ्नो मान्छे पार्ने सफलता हासिल गर्नुभएको थियो । बरु ओलीले नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललाई पेलेरै जानु भएको थियो । देउवाले ओलीको कतिपय विवादास्पद कदमको पनि खासै विरोध समेत गर्नुभएन । बरु मिलेर जाने रणनीति बनाउनुभयो ।
नेकपा अध्यक्ष प्रचण्डले फागुनबाट संयुक्त आन्दोलन गर्ने दावी गर्नुभएको छ तर, देउवा प्रचण्डलाई विश्वास गर्ने पक्षमा नभएको बुझिएको छ । प्रचण्ड र माधव नेपालले देउवालाई संसद पुनःस्थापनाको एजेन्डा बोकेर संयुक्त रुपमा गएमा प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो । तर, देउवा मान्नु भएन। उहाँ चुनावको पक्षमा नै देखिनुभयो ।
देउवाले प्रचण्डबाट आएको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको विषय ओलीले घुमाउरो तरिकाले उठाईसक्नु भएको छ । उहाँले सार्वजनिक रुपमा प्रधानमन्त्रीको प्रस्ताव लिएरसम्म गएको विषय उठानुभयो । यसबाट ओली र देउवाबीच गहिरो मिल्ती देखिएको छ ।
ओलीलाई साथ दिएर देउवाले सरकारमा नरहेरै पनि कतिपय नियुक्तिमा आफ्ना मान्छे घुसाउन सफल हुनुभएको छ । अर्कोतर्फ, चुनावको मुद्दाले पार्टीको आउँदो महाधिवेशनलाई पर धकेल्ने प्रयास गरिरहनु भएको छ । महाधिवेशन नै गर्नुपरे शक्ति सञ्चयका साथ बाजी पार्ने रणनीति बनाइरहनु भएको छ। यसमा ओलीको पनि साथ रहने देउवालाई विश्वास देखिन्छ ।
चुनावमा गइहालेमा नेकपा फुटको फाइदा उठाउन सकिने देउवाको आँकलन हुनसक्छ । नेकपा फुट्दा काँग्रेस नै बलियो हुने देउवाको बुझाई देखिन्छ । राजनीतिक संकट लामो समय नजाने र आफू फेरि प्रधानमन्त्री बन्नसक्ने देउवामा आशा बढेको देखिन्छ ।
तर, राजनीतिक सिधा रेखाबाट जाँदैन । कथंकदाचित् संसद पुनःस्थापना भएमा सबैभन्दा ठुलो झड्का ओली र देउवा दुवैलाई लाग्छ । काँग्रेसभित्र देउवाविरोधी बलियो हुनसक्छन् । चुनाव टरेर पछि धकेलिएमा पनि देउवाको अनुमान गलत निस्कनसक्छ । राजनीतिक अस्थिरताले अर्को कुनै शक्ति बलियो हुँदै जानसक्छ । त्यतिबेला ओली र देउवा दुवै कमजोर हुनसक्छन् ।
मुख्य शक्ति जस्तै देखिएका ओली र देउवा दुवै एकसाथ संकटमा पनि फस्न सक्ने खतरा नभएको होइन । यसले उनीहरु दुवैको राजनीतिक भविष्यमा चुनौती बन्न सक्छ । देउवाले सोचेजस्तो काँग्रेस बलियो नभई झन् कमजोर हुनसक्ने सम्भावना पनि छ । चतुर ओलीले चुनाव भएमा या नभएमा पनि चोटिलो राजनीतिक अस्त्र फाल्न सक्छन् । उहाँले विगत पाँच वर्षयता यस्तै अस्त्र हान्दै आउनु भएको छ । फाईल फोटो