काठमाडौं २०, माघ । भारतले बाटो निर्माणका क्रममा खसेको पहिरोले दार्चुलामा महाकाली नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार दार्चुलाको माल्पा भन्ने ठाउँमा भारतले सीमावर्ती सडक बनाउँदा ठूलो पहिरो हो । पहिरो खसेर नदी थुनिँदा पहिरो तथा बाढीको खतरा बढेको प्रसासनले जनाएको छ ।
कञ्चनपुर प्रशासन कार्यालयले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन भनेको छ। प्रशासकीय अधिकृत कृष्णानन्द जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकाले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको छ । बिज्ञप्तिमा महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सूचना अधिकारी ज्योत्सना भट्ले भारतले सडक बनाउने क्रममा विस्फोट गर्दा पहिरो खसेर व्यास क्षेत्रमा नदी आशिंक रुपमा थुनिएको बताउनुभयो । अहिले हटाउने कार्य भइरहेको उहाँको भनाई छ ।