काठमाण्डौ १५, माघ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई हिजो प्रहरीले पक्राउ गरेको छ । उहाँले भ्रष्टाचार गर्नुभएका केही प्रमाणहरु भेटिएको र अनुसन्धान भइरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानूनको उलङ्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेकोलगायतका आरोपहरु उहाँलाई लगाइएको छ । खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा अनियमितता गरेको भन्दै उहाँसहित सरोकारवालाहरुलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शङ्का गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन् ।