काठमाण्डौ १५, माघ । सरकारले शहीद तथा बेपत्ता पारिएकालगायतको अभिलेख सङ्कलन गर्न समिति गठन गरेको छ । नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि ज्यान गुमाएका शहीद तथा बेपत्ता पारिएकालगायतको अभिलेख सङ्कलन गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकको निर्णयबाट गठित उक्त समितिमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे पनि रहनु भएको छ ।
उक्त समितिले “नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गर्ने” र सरकारका तर्फबाट परिचयपत्र उपलब्ध गराउने जनाइएको छ । उक्त समितिले आगामी बैठकमा प्रस्ताव पेश गर्ने जनाइएको छ ।