जनकपुर १३, माघ । जनकपुरधाम उपमहानरपालिका १० अरगज्जा पोखरीस्थित सिताराम राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक तहका सबै विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पठनपाठन गराइँदै आएको छ । विद्यार्थी अभावमा शिक्षकहरूले एउटै कक्षाकोठामा शिशु कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीलाई राखेर पढाउने गरेका छन् ।
विद्यालयमा सबै कक्षाको विद्यार्थी उपस्थित भएपनि न्यून संख्यामा उपस्थिति रहेको भन्दै एउटै कक्षाकोठामा पढाएको राहत शिक्षक मिनु कर्णले बताउनुभयो । विद्यालयमा एक राहत, तीन स्थायी र एक बाल विकास गरी पाँच जना शिक्षक छन् । सरकारले सामुदायिक विद्यालयमा एक शिक्षक बराबर ५० जना विद्यार्थी राख्ने व्यवस्था गरेको छ ।
जनकपुरका अधिकांश विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक छैनन् भने विद्यालयमा विद्यार्थीलाई टिकाइराख्नका लागि पनि कुनै ठोस योजना नहुँदा बालबालिका विद्यालय आउन छोडेका छन् ।