काठमाण्डौ ११, माघ । नेपाल बार एसोसिएसनले कानुन व्यवसायीहरू र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । बार एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कानुन व्यवसायीहरुको अपमान भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले माघ ९ गते आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरूप्रति लक्षित गरेर अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता भण्डारीप्रति लक्षित गरेर अपमानजनक भनाइ राखेको नेपाल बारको धारणा छ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाबारे भइरहेको सुनुवाईलाई लक्षित गरेर प्रधामन्त्रीले ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलहरूले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न ।’ भन्ने टिप्पणी गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको उक्त भनाइलाई नेपाल बारले अपमानजनक भनेको छ । उक्त अभिव्यक्ति ’संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल छैन । साथै उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायी कै विरुद्ध मात्र नभएर अदालतकै मानहानीरअवहेलनाजन्य हो,’ विज्ञप्तिमा भनिएको छ । ओलीको अभिव्यक्तिलाई लिएर नेपाल बारका चार पूर्वअध्यक्षहरूले पनि आज नै विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् ।
