काठमाण्डौं १०, माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदिन भित्रमा कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न निर्देशन दिएको छ । मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गर्दै खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी दुई दिनभित्र पठाउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयले पत्राचार गरेको हो ।
संघ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई १२ गतेसम्ममा मन्त्रालयको वेबसाइटमा आउने गरी तोकेको ढाँचामा विवरण पठाउन निर्देशन दिइएको हो । विवरण प्राप्त भएपछि भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउने प्रक्रिया अघि बढने भएको हो ।
स्वास्थ्य संस्थामा कार्यरत कोरोना संक्रमितको व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालकलाई पहिलो चरणमा खोप दिने तयारी छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीलाई पहिलो चरणमा खोप लगाउने तयारी गरिएको छ ।
अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्ति सूचीकृत गरिएको छ ।