गोरखा ६ माघ। प्रधानमन्त्री केपि ओलिले असंवैधानिक रुपमा संसद बिघटन गरेको भन्दै बारपाक सुलिकोटबासीले बिरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टीले सोमबार आयोजना गरेको बिरोध कार्यक्रममा गाउँपालिका भित्रका सयौं नेता कार्यकर्ताहरुको सहभगिता रहेको थियो । ताकुकोटमा भएको बिरोध प्रदर्शन बहाकोट चौतारामा भेला भई नारा जुलुश लगाउदै पाल्खुबजारमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपि ओलीको कदमको बिरुद्धमा चर्को नाराबाजी गरेका थिए ।
पाल्खु बजारमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष बिष्णु भट्टले केपि ओलीको प्रतिगामि र असंवैधानिक कदमले जनयुद्ध र जनआन्दोलनको उपलब्धि गुम्ने खतरा बढेकोले उपलब्धीको रक्षा र ओली `कु´ को बिरुद्धमा देशभरका क्रान्तिकारीहरु संघर्षमा उत्रेको बताउनुभयो । अर्का प्रदेश कमिटी सदस्य भगवती तिवारीले जनताको अभिमतलाई प्रधानमन्त्री केपि ओलीले खोस्दै निरुङ्कुशतातर्फ देशलाई धकलेकोले त्यसको बिरुद्धमा आन्दोलन गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । पार्टी अध्यक्ष नरबहादुरको अध्यक्षतामा भएको कोण सभामा वडा नं ५ का पार्टी अध्यक्ष शिव खड्का, गोरखा काठमाडौ जनसम्पर्क मंचका नेता धिरज उपरकोटी, युवा नेता रवित तामाङ, विद्यार्थी नेता सुलभ अंगाई लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।
त्यसअवसरमा पन्द्रुङका इश्वर बगालेको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी दर्जनौको संख्यामा नेकपामा प्रवेश गराएको थियो । त्यस्तै गरि बारपाकमा भएको बिरोध प्रदर्शन वडा कार्यालय चोकमा भेला भई ताक्लेनान चौतरामा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा नेताहरु रोशन बिक, पुर्ण गुरुङ, डम्वरसिं घले लगायतले मन्तब्य राखेका थिए । २०७४ सालको निर्वाचन र २०७५ जेठ ३ गते भएको पार्टी एकतापछि नेकपा ६४% सांसदसहित प्रतिनिधि सभामा सहभागी थियो ।
दुई तिहाईको समर्थनमा केपि ओलीको नेतृत्वमा सरकार समेत गठन भएको थियो । तर केपि ओलीले पार्टीको नीति, विधि र पद्धति बिपरित सरकार चलाएको, चरम गुटबन्दी गरेको, भ्रष्टचार बढेको भन्दै पार्टी भित्र र बाहिर बहस चल्दै आएको थियो । यसक्रममा प्रधानमन्त्री ओलीले पुस ५ गते आफनै पार्टीको दुई तिहाई नेताहरुको असहमती बिपरित प्रतिनिधि सभा नै बिघटन गरेको थियो । उक्त कदम प्रतिगामी भएको भन्दै प्रचण्ड र माधब नेपालको नेतृत्वमा बहुमत सांसद र केन्द्रीय नेताहरु देशब्यापी आन्दोलनमा गएको छ ।
त्यस अनुरुप बारपाक सुलिकोट गाउँपालिका पार्टीले आज बारपाक र ताकुकोटमा बिरोध प्रदर्शन गरेको अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिनुभयो । केपी ओलीको प्रतिगामी कदम नसच्चिदासम्म गाउँ-गाउँसम्म पुगेर जनतालाई जागृत गराउदै आन्दोलन गर्ने अध्यक्ष गुरुङले दाबी गर्नुभयो ।