काठमाण्डौं २८, पुस । पूर्वप्रधानमन्त्री एवं समाजबादी पार्टीका नेता डा।बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी देखाउने षड्यन्त्र भइरहेको आरोप लगाउनु भएको छ ।
डा.भट्टराईले आज एक ट्वीट गर्दै ओलीलाई राष्ट्रवादी ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताउनु भएको हो। ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न यस्तो हल्ला चलाइएको भट्टराईको भनाई छ ।
प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजलाई दिएको एक अन्तर्वार्ताको चर्चालाई लिएर भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । डा.भट्टराईले देशी विदेशी शक्तिकेन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झै ओलीलाई चित्रण गर्न खोजेको बताउनु भएको छ ।
उहाँले प्रधानमन्त्री ओलीलाईं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाइने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह समेत गर्नुभएको छ। ओलीलाई राष्ट्रवादी देखाउँदै देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाइने षड्यन्त्र भएको उहाँको दावी छ ।