गोरखा २७, पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद बिघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त बिकल्प भएको बताउनु भएको छ । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९ औं पृथ्वीजयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुग्नु भएका उहाँले पत्रकारहरुसंग कुराकानी गर्दै संसद बिघटन भइसकेकाले राजनीतिक संकट समाधानका लागि ताजा जनादेश नै अहिलेको सवै भन्दा उपयुक्त बिकल्प भएको बताउनु भएको हो ।
‘राजनीतिक दृष्टिकोणका हिसावले बर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्मपरिवर्तन जस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ, उहाँले भन्नुभयो, ‘ राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यहीँ हो ।’ अध्यक्ष थापा संसद बिघटनपछि अहिले सडकमा पक्ष बिपक्षमा भइरहेको बिरोधको कार्यक्रम उपयुक्त नभएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपतिबाट संसद बिघटनको भइसकेपछि अहिले देशमा सवैधानिक जटिलता थपिएको बताउनुभयो । अध्यक्ष थापाले अब संबिधानमा देखिएको अस्पस्टताको व्याख्या गर्ने अधिकार अब सर्वोच्च अदातललाई भएको उल्लेख गर्नुभयो । ‘संसद बिघटनले नेपालको संबिधानमा रहेका बिबाद र अस्पस्टतालाई उजागर गरेको छ, अध्यक्ष थापाले भन्नुभयो, अब यसको निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई मात्र छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका थापाले सर्वोच्च अदालतमा पुगेको मुद्दामा सडकमा पक्ष र बिपक्षमा बिरोध कार्यक्रम गरेर मुद्दालाई प्रभावित पार्ने काम भइरहेको भन्दै कोहीकसैबाट पनि त्यस्ता खालका कार्य हुन नहुनेमा जोडदिनुभयो ।