गोरखा २५, पुस ।नेपाली काग्रेस गोरखाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेको बिरोधमा जिल्लाको बिभिन्न निर्वाचन क्षेत्रमा आज बिरोध सभा गरेको छ । बिरोधसभामा बोल्दै काग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघटन गरेर गैह्रसंबैधानिक काम गरेको भन्दै तत्काल संसद पुनस्थापना गर्न माग गरेका छन् । उनिहरुले बर्तमान सरकार जनताको अपेक्षा कुठाराघात गरेको भन्दै बहुमत प्राप्त सरकारले संबिधानमा नै नभएको अधिकारको प्रयोग गरेको बताएका छन् ।
गोरखा क्षेत्र नम्बर २ ‘क’ ले आज पालुङटारमा आयोजना गरेको बिरोध सभालाई संवोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले संसद बिघटनमा प्रधानमन्त्री केपी ओली मात्र नभएर सिङ्गो नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दोषी रहेको आरोप लगाउनु भएको छ । उहाँले सर्वोचच्च अदालतले संसद बिघटनलाई सदर गरे काग्रेस निर्वाचनमा जान पनि तयार रहेको बताउनुभयो । केन्द्रिय सदस्य पाण्डेले चुनाव नगराई तानाशाह शैली प्रधानमन्त्री ओली आफैँ हुकुमी शासन गर्ने योजना रहे नेपाली जनता सामु टिक्क नसक्ने जिकिर गर्नुभयो ।
‘हामी कम्यूनिष्टको कुनैपनि नेताको पक्षमा छैनौँ’ नेता पाण्डले भन्नुभयो ‘संसद बिघटन गर्नु नै जनताले गरेको विश्वासलाई कम्यूनिष्ट सरकारले घात गर्नु हो ।’कम्यूनिष्ट सरकारलाई जनताले पाँच वर्ष देश चलाउने जनादेश दिएको भएपनि तीन वर्ष पनि चलाउन नसकेको बताउनुभयो । बिरोधसभा अन्र्तगत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को आरुघाटमा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले केपी ओलीको सरकार भष्ट्राचारमा डुवेको र भष्ट्राचारीहरुको संरक्षणमा लागेको आरोप समेत लगाउनुभयो ।
त्यस्तै क्षेत्र नम्बर २ सिरानचोक गाउँपालिकाको जौवारीमा आजै भएको बिरोधसभामा बोल्दै पार्टीका केन्द्रिय सदस्य कमला पन्तले बर्तमान सरकारले संबिधानको ठाडो उल्लधन गरेको बताउनुभयो । उहाँले संबिधान बिरोधी हर्कत तत्काल नसच्याए काग्रेस थप ससक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिनुभयो ।