बाग्लुङ २३, पुस । बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि सात जना घाइते भएका छन् । हिजो साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना हुँदा २६ वर्षका चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षका प्रेम विक, २७ वर्षका बिरमला विक, एक वर्षका सुवास विक, २४ वर्षका मनि विक, २१ वर्षका रतना सुनार, ६ वर्षका योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षका सत्य लोहार रहेका छन् ।
कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनाको उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको थियो । हाल उनीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइएको छ ।फाइल फोटो