गोरखा २२, पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाको प्रचण्ड–माधव पक्षले आज आफ्ना पक्षका जनप्रतिनिधिहरुसंग छलफल तथा प्रशिक्षण सम्पन्न गरेको छ । पार्टी कार्यालय पाटेचौरमा जिल्ला भित्रका ११ वटै स्थानीय तह अन्र्तगत निर्वाचित आफ्ना पक्ष जनप्रतिनिधिहरुसंग छलफल गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहनुभएका पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो ।

छलफल तथा प्रशिक्षण कार्यक्रममा सवै स्थानीय तहका जनप्रतिनिधीहरुले पछिल्लो अबस्था र आफ्नो पक्षमा रहेका जनप्रतिनिधीहरुको अबस्थाको बारेमा पार्टीमा रिर्पोटिङ गरेका थिए । छलफलमा बिघटित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारी सहित बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, पालुङटार नगरपालिकाकी उपाध्यक्ष पम्फा बसेल, चुमनुव्री गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङ लगायत प्रचण्ड नेपाल पक्षका निर्वाचत वडाध्यक्ष, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
छलफल तथा प्रशिक्षणमा सहभागीहरुलाई पार्टीका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे, केन्द्रीय सदस्य हरिराज अधिकारी, जिल्ला इन्चार्ज अमर तमु, जिल्ला अध्यक्ष लेखबहादुर लेखबहादुर थापा लगायतले जनताको मर्म र भावना बुझेर जनपक्षिय काम गर्न निर्देशन दिएका थिए ।