काठमाण्डौ २१, पुस । नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो ।
बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो । अब संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो ।
नेकपाको कुल ३२ सांसद मध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डल बिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर संकलन गरिएको सांसद न्यौपानेले बताउनुभयो ।