गोरखा, २१ पुस । नेपाल एकिकरण गर्दा प्रयोग भएका ऐतिहासिक पदमार्गको संरक्षण, संम्र्बद्धन र प्रचार–प्रसारका लागि नेपाली सेनाले ‘गोरखा–काठमाण्डौ एकिकरण मार्ग पदयात्रा कार्यक्रम २०७७’ सुरु गरेको छ । नेपाली सेनाको रणसिंह दल गण गोरखाबाट ४० जनाको सेनाको टोली आज बिहान ८:४५ बजे पदयात्रामा निस्किएको गणपति प्रमुख सेनानी उज्वल केसीले जानकारी दिनुभयो । पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेनाका उपरथी बिनय बिक्रम राणाले बिदाई गर्नुभएको छ ।

तत्कालिन राजा पृथ्वी नारायण शाहको पालामा सेनाले लगाउने पोशाक लगाएर गोरखाबाट नेपाल एकिकरणको आरम्भ गर्दा हिडेको पदमार्ग हुदै पदयात्रा काठमाण्डौसम्म पुग्ने उहाँको भनाई छ । ‘गोरखा दरबारको हनुमान चौताराबाट बिहान निस्किएको टोली आज साँझ घाटबेसी स्थित धादिङको सिमानामा पुगेर रात बस्छ, प्रमुख सेनानी के.सीले भन्नुभयो, मंगलबार बिहान टोलीको धादिङमा रहेको सेनाको देवीदत्त गणको टोलीबाट गोरखाबाट लगिएको झण्डा र टर्च लाई हस्तान्तरण गरेपछि पदयात्रा नुवकोट तर्फ प्रस्थान गर्नेछ ।’

त्यस्तै बुधबार धादिङबाट पदयात्रामा निस्कने देवीदत्त गणको टोली यहीँ २४ गते साँझ नुवाकोटको सिमानामा पुगेर २५ गते बिहान नुवाकोट स्थित सेनाको जवरजंग गणलाई झण्डा र टर्च हस्तारण गर्ने उहाँले बताउनुभयो । नुवाकोटबाट सोही दिन बिहान सेनाको जवरजंग गणबाट पदयात्रामा निस्कने टोलीले २६ गते बिहान काठमाण्डौको सिमानासम्म पुगेर हनुमान ढोकामा रहेको शार्दुलजंग गणलाई झण्डा र टर्च हस्तान्तरण गर्ने प्रमुख सेनानी के.सीले जानकारी दिनुभयो ।

नेपाल एकिकरणको तत्कालिन अभियानलाई मध्यनजर गरि सुरु गरिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा सहभागी हुने तय भएको उहाँले जानकारी दिनुभयो । गोरखाबाट यात्राको निस्किएको टोलीलाई आज साँझ भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयबासीहरुले झाँकी सहित भव्य स्वागत गर्ने कार्यक्रम रहेको गाउँपालिकाकी उपाध्यक्ष बिनु वाग्लेले जानकारी दिनुभयो ।

पद यात्रा निस्किएको सेनाको टोलीले तात्कालिन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिडेको गणपति के.सीले जानकारी दिनुभयो । गएको बर्षदेखि नेपाली सेनाले गोरखा धादिङ नुवकोटदेखि काठमाण्डौसम्म नेपाल एकिकरण गर्दा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रयोग गरे पदयात्रा गर्दै आएको छ ।