अमृत बि.क
गोरखा १९ पुस । गोरखा जिल्ला भित्रका सरकारी कार्यालयहरु अझैपनि अपांगमैत्री नहुदा अपांगता भएका व्यक्तिहरु सेवा सुबिधाबाट बन्चित हुनु परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल अपांग महिलासंघ गोरखाले आयोजना आज सदरमुकाममा आयोजना गरेको अपाङ्ग भएका व्यक्तिहरुको समावेशिता पहुँच र सशक्तिकरणमा सञ्चार माध्यमको भुमिका विषयक एक दिने कार्यशाला गोष्ठी बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् ।
गोष्ठीमा नेपाल पत्रकार महासंघ गोरखाका शाखाका अध्यक्ष किशोरजंग थापाले जिल्ला भित्र निर्माणका भएका सरकारी संरचना तथा विद्यालयहरु अझै पनि अपाङ्ग मैत्री हुन नसकेको बताउनुभयो । उहाँले जिल्लाका केही सरकारी कार्यालय बाहेक अन्य कार्यालय अपांगमैत्री नहुदा अपांगता भएका व्यक्तिहरुले सेवा लिनबाट बन्चित हुनुपरेको उल्लेख गर्नुभयो । गोष्ठीमा नेपाल नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्य संबिधान र कानुनमा अधिकारी उल्लेख गरेको भएपनि व्यवहारमा भने अझै लागु हुन नसकेको बताउनुभयो ।
उहाँले अपाङ्गता भएकाहरुको लागि सवारी साधानमा छुट दिने भनिएता पनि बोल्न सक्ने र टाठाबाठाहरुले मात्र पाउने गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग महिला संघ गण्डकी प्रदेश कार्यक्रम संयोजक रत्न गुरुङ्गले अपाङ्गतामा व्यक्तिहरुलाई समाजमा अझै पनि बिभेद हुने गरेको बताउनुभयो । ‘दृष्टि बिहिनहरुले अझै पनि आफुले चाहेको उमेद्वारलाई मत हाल्न पाउने अबस्था छैन, उहाँले भन्नुभयो, दृष्टि बिहिनहरुका लागि मतपत्रमा पनि बे्रल लिपीको व्यवस्था गर्न सके त्यस्ता नागरिकहरुले आफुले रोजेको चाहेका व्यक्ति रोज्न पाउने थिए ।’
उहाँले सुस्त मनस्थिती भएका व्यक्तिहरु सरकारी कार्यालयमा सेवा लिन जादाँ दोभाषेको व्यबस्था नहुदा समेत सेवा दिनबाट बन्चित हुनुपरेको अबस्था रहेको बताउनुभयो । गुरुङले समाजमा अपांगता भएकाहरु माथि हुने हरेक खालका बिभेदलाई सञ्चारमाध्यमहरुले उजागर गर्न सके अपांगत भएका व्यक्तिहरु प्रति अरुले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनसक्ने बताउनुभयो ।
आइफेस नेपालको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल अपाङ्ग महिला संघ गण्डकी प्रदेश कार्यक्रम संयोजक गुरुङ्गले सहजीकरण गर्नु भएको थियो । जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रम नेपाल आपाङ्ग महिला संघ गोरखाकी अध्यक्ष गीतामाया श्रेष्ठ अध्यक्षतामा सम्पन्न भएको हो ।