काठमाण्डौ, १९ पुस । दक्षिण अफ्रिकी मुलुक नाइजेरियाको माली सीमा नजिक एक गाउँमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा ७९ जनाको मृत्यु भएको छ । आक्रमणमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय अधिकारिहरुका अनुसार टिल्लाबेरी क्षेत्रमा रहेको चोमोबान्गोऊ र जारोउम्दारेय गाउँमा आक्रमण भएको हो ।
चोमोबान्गोऊ गाउँमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । यस्तै जारोउम्दारेय गाउँमा ३० जनाको मृत्यु भएको बताइएको छ । बीबीसीले लेखे अनुसार यस क्षेत्रमा सन् २०१७ देखि नै आपतकाल लागू गरिएको छ । आक्रमण पश्चात हालसम्म नाइजेरिया सरकारले कुनैपनि प्रतिक्रिया जनाएको छैन ।
पश्चिमी अफिकी मुलुक नाइजेरियामा अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धीत चरमपन्थीहरुले यसअघि पनि आक्रमण गरिसकेका छन् । गत वर्ष भएको विभिन्न आक्रमणमा परी एक सयभन्दा बढीको मृत्यु भएको थियो ।