गोरखा १७, पुस । लामो समय पछि खुलेको मनकामना मन्दिरमा भत्तजनहरुको संख्या बढ्न थालेको छ । नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेको मन्दिर मंसिर २८ गतेदेखि खुल्ला गरिएपछि भत्तजनको चहलपहल ह््वात्तै बढेको हो । ‘मन्दिर खुल्ला गरेसगै केही दिनदेखि मनकामना मन्दिरमा देवी दर्शनका लागि आउनेको संख्यामा उल्लेखनीय बृद्वि भएको छ’ स्थानीयबासी दिनेश जोसीले भन्नुभयो, ‘अहिले सरदर दैनिक १ हजार भन्दा माथी नै भक्तजन मन्दिरमा आउने गरेका छन् ।
संक्रमणको फैलन सक्ने भएकाले अझै पनि भत्तजनहरुलाई मन्दिर भित्र सिधै प्रवेश गर्न भने दिईएको छैन । मन्दिरको पश्चिम र दक्षिण झ्यालबाट पुजा सामाग्री दिने दर्शनका लागि ब्यवस्था मिलाएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिनुभयो । भक्तजनलाई सिधै भित्र जान दिदाँ पुजारीमा समेत संक्रमण हुन सक्ने र अरुलाई पनि सर्न सक्ने भएका कारण बाहिर बाट नै पुजा र दर्शनको ब्यवस्था मिलाईएको पुजारी थापाको भनाई छ । भक्तजन बढे संगै मनकामना बजार क्षेत्रको ब्यापारमा समेत बृद्धि हुन थालेको छ ।
होटल, रेष्टुरेन्ट र पूजा तथा फोटो पसलहरुमा अहिले भक्तजनहरुको भिड सजिलै देख्न सकिन्छ । भक्तजनहरुको बृद्वि संगै दर्शनार्थीहरुलाई सामाजिक दुरी कायम गराउन समस्या भएको मनकामना क्षेत्र बिकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो । ‘हामीले स्वास्थ्य सुरक्षाका लागि भक्तजनलाई सम्झाउने गरेको छौ’ उहाँले भन्नुभयोे ‘तर पनि भक्तजन कोही मान्दैनन् ।
यता बन्दाबन्दी पछि खुलेको मनकामना केवलकारमा १६ दिनमा २१ हजार हाराहारीमा दर्शनार्थीहरुले यात्रा गरेको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक उज्वल शेरचनले जानकारी दिनुभयो । गएको १४ गतेदेखि भने मर्मतका लागि एक हप्ताका लागि केबुलकार बन्द गरिएको छ । केवलकार बन्द भएपनि भक्तजनहरु हिडेर, सवारी साधानको प्रयोग गरेरै भएपनि मनकामना मन्दिर पुग्ने गरेका छन् ।