दीपक श्रेष्ठ
गोरखा, १५ पुस (रासस) । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अबसरमा नेपाली सेनाले गोरखाबाट काठमाण्डौसम्म एकिकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकिकरणको उद्गमस्थल गोरखाबाट पृथ्वी नारायण शाहले गोरखा राज्य एकिकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेबाट पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्वल केसीले जानकारी दिनुभयो ।
‘गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालिन राजा पृथ्वी नारायण शाह जन्मनु भएको गोरखा दरबारहुदै पदयात्रा सुरु हुन्छ, उहाँले भन्नुभयो, गोरखा दरबारबाट सेनाको निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङ स्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्चलाई हस्तारण गछौ ।’ तत्कालिन राजा पृथ्वी नारायण शाहकालिन पोशाकमा सेनाको टोली पदयात्रामा निस्कने उहाँको भनाई छ ।
नेपाल एकिकरण तत्कालिन अभियानलाई मध्यनजर गरि सुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाण्डौ पुग्ने कार्यक्रम तय भएको गणपति के.सीले जानकारी दिनुभयो । ‘भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयबासीहरुले सेनाको स्वागतका लागि झाँकी कार्यक्रम गर्ने तयारी भइरहेको छ ।
पद यात्रामा तात्कालिन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिड्ने गणपति के.सीले जानकारी दिनुभयो । गोरखाबाट पदयात्रामा निस्किएको टोलीले धादिङको सिमानासम्म पुगेपछि धादिङ स्थित सेनाको गणलाई झण्डा र टर्च गर्नेछ भने धादिङबाट नुवाकोटको सिमानासम्म धादिङ स्थित सेनाको गणले झण्डा र टर्च पु¥याउनेछ ।
त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाण्डौ स्थित सेनालाई बुझाउनेछ । पदयात्रा २७ गते पृथ्वी जयन्तीको अबसरमा काठमाण्डौ पुग्ने उहाँले बताउनुभयो । गोरखा दरबार बाट ४० जनाको टोलीले पदयात्रा गर्ने गणपति के.सीले जानकारी दिनुभयो । यस अघि गएको बर्ष पनि नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अबसर पारेर नेपाल एकिकरणका क्रममा पृथ्वी नारायण शाहले यात्रा गरेको पदमार्ग समेटेर पदयात्रा गरेको थियो ।