तनहुँ ९ पुस । तनहुँको देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ गाउँबाट रू। तीन करोडभन्दा बढीको सुन्तला विक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रू तीन करोडभन्दा बढीको सुन्तला विक्री भएको हो ।सुन्तला विक्री गरेर यहाँका एक जना कृषकले मात्रै रू२२ लाख आम्दानी गरेका छन् । स्थानिय भीम रानाले यस वर्ष सुन्तला विक्रीबाट उक्त आम्दानी भएको बताउनुभयो ।
‘सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो’, उहाँले भन्नुभयो ‘सुन्तला विक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।’ रानाले एउटा बगैँचाबाट रू। १५ लाख र अर्को बगैँचाबाट रू। सात लाख बराबरको सुन्तला विक्री गरेका छन् । ‘सुन्तला विक्रीका लागि समस्या छैन’, उहाँले भन्नुभयो ।
स्थानीयवासी कर्णसिंह गुरुङले रू। १८ लाख, नवराज गुरुङले १५ लाख, रामबहादुर रानाले १२ लाख बराबरको सुन्तला विक्री गर्नुभएको छ । ‘सुन्तला विक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध छन्’, उहाँले भन्नुभयो । उहाँका अनुसार यस ठाउँबाट मात्रै करीब तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको अनुमान छ ।
देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुंग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिनुभयो । उहाँले यहाँका कृषकले सुन्तला विक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै भन्नुभयो, ‘हरेक घरमा सुन्तलाको बोट छ, कति विक्री भयो भन्ने चाँही तथ्यांक आउन बाँकी छ ।’
कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिकटन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
‘उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ’, उहाँले भन्नुभयो ‘१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्यांक छ ।’ तिवारीका अनुसार यस वर्ष करीब रु २३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ । रासस