गोरखा, ३ पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा करिब १ करोड २२ लाख रुपैयाको लागतमा सुबिधा सम्पन्न बहुउद्देश्यीय सभाहल निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित ताकुकोटमा सभाहल निर्माणका काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।
सभाहल निर्माणका लागि सिराईचुली निर्माण सेवा कम्पनीसंग ठेक्का सम्झौता गरि निर्माणको काम अघि बढाइएको उहाँले बताउनुभयो । ‘आउदो जेठ मसान्तसम्म निर्माणको काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको हो, प्रमुख प्रशासकिय अधिकृत भण्डारीले भन्नुभयो, तोकिएको समयमा काम सम्पन्न गर्ने गरि निर्माण कम्पनीलाई निर्देशन दिएका छौ ।’
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण अघि बढाइएको सभाहलमा करिब २÷३ सय जना अट्न सक्ने क्षमता रहने उहाँले बताउनुभयोे । ‘प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा हल निर्माण गर्न लागिएको हो, उहाँले भन्नुभयो, गएको आर्थिक बर्षको कार्यक्रम भएपनि गतबर्ष काम सुरु गर्न नसकेका कारण यो बर्ष टेण्डर आवहन गरि काम गर्न थालिएको छ ।’
नयाँ निर्माण गर्न लागिएको सभाहलकोे गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतले बिहिबार एक कार्यक्रम बिच शिलन्यास गर्नुभएको छ । शिलन्यास कार्यक्रममा मन्त्री बस्नेतले तोकिएको समयमा निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पतीलाई निर्देशन दिनुभयो । उहाँले बिकास निर्माणको काममा कसैले आलटाल गर्न नहुने बताउनुभयो ।
शिलन्यासंगै निर्माणको काम समेत अघि बढाइएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीको भनाई छ । गाउँपालिका भित्र सुबिधा सम्पन्न सभाहल नहुदा बिभिन्न खालका कार्यक्रम, सेमिनार,गोष्ठी लगायत सञ्चालन गर्न समस्या हुदै आएको छ ।