गोरखा १९, मङ्सिर । द ओसन क्लबको आयोजनामा नेपाल पत्रकार महासंघ गोरखा र गोरखा नगरपालिका बिच आज भएको मैत्रीपूर्ण फुटबल खेलमा गोरखा नगरपालिका बिजयी भएको छ । क्लबले भर्खरै वडा नम्बर ९ स्थित दलभन्ज्याङमा निर्माण सम्पन्न गरेको घाँसे मैदानमा पत्रकार मंहासंघ र नगरपालिका बिच मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघका खेलाडीहरु
खेलमा गोरखा नगरपालिकाले पत्रकार महासंघलाई ६–३ गोल अन्तरले पराजित गरेको आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो । खेलको पहिलो हापमा ३ गोलले पछि परेको पत्रकारको टोलीमा दोस्रो हापमा बिस्तारै लयमा फर्किए पनि पराजयलाई रोक्न सकेन । दोस्रो हापको पहिलो ७ मिनेटमा १ गोल फर्काएर खेलमा फर्कने प्रयास गरेको महासंघको त्यसको केही मिनेटमा अर्को गोल खाएर खेल ४–१ को स्थितीमा पुगेको थियो ।

तत्कालै महासंघको तर्फबाट अर्को एक गोल गरि खेल ४–२ को अबस्थामा पुगेको भएपनि नगरपालिकाका तर्फबाट मेयर राजनराज पन्तले गोल गरि पुनः खेल ५–२ को स्थितीमा पुगेको थियो । खेलको अन्य तिर दुवै टिमबाट पुन १–१ गोल भएपछि मैत्रीपूर्ण खेल ६–३ को अबस्थामा सकिएको हो । खेलमा गोरखा नगरपालिकाको टिमको नेतृत्व नगरप्रमुख राजनराजन पन्तले सम्हाल्नु भएको थियो भने पत्रकार महासंघको टिमको नेतृत्व अध्यक्ष किशोरजंग थापाले सम्हाल्नु भएको थियो ।
मैत्रीपूर्ण फुटवलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मयेर राजनराज पन्त
द ओसन क्लबले गोरखा जिल्लामै पहिलो पटक करिब ५० लाख रुपैया भन्दा बढी खर्च गरेर कृतिम घाँसे मैदान निर्माण गरेको छ । घाँसे मैदान निर्माण सम्पन्न भएसंगै पहिलो पटक महांसघ र गोरखा नगरपालिका बिच मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।
मैत्रीपूर्ण खेलको उद्घाटन कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले द ओसन क्लबले गोरखा जिल्लामा कृतिम घाँसे मैदान निर्माण गरेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले घाँसे मैदानलाई स्तरोन्नतीका लागि नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।