तनहुँ १७, मङ्सिर । नेपाली काँग्रस तनहुँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा भोली बिरोध कार्यक्रम गर्ने भएको छ । निषेधाज्ञा तोडेका आरोपमा आज प्रहरीले वरिष्ठ नेता पौडेल, काँग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।
तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा दिउँसो २ बजे पक्राउ गरिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे रिहा हुनुभएको थियो ।
काँग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन सुरु गरिने घोषणा गर्नुभयो । पूर्वाधार विकास कार्यालय मार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।
उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो । सोही बिषयलाई लिएर प्रसासनले निषेधाज्ञा जारी गरेका बेला नेता पौडेल जबरजस्ती कार्यक्रम स्थलमा जाने तयारी गरेपछि सभ्भावित झडप रोक्न प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको प्रसासनले जनाएको छ ।