गोरखा १६, मङ्सिर । गोरखाको ४ स्थानिय तहमा अस्पताल बनाउन समेत जग्गा विवाद भएको छ । जग्गा बिबादका कारण मंगलबार शिलन्यास हुनुपर्ने ४ स्थानीय तहको अस्पतालको शिलन्यास समेत हुन नसेको हो । जिल्लाको सिरानचोक, धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिकामा जग्गा विवाद भएको भन्दै हिजो ९सोमबार० हुने शिलान्यास कार्यक्रम हुन नसकेको हो । ‘हामीले हाम्रो पालिका भित्रको थालाजुङमा अस्पताल निर्माणका लागि निर्णय गरेर पठायौं । माथिबाट जौबारीमा राख्ने भनेर निर्णय आयो’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भन्नुभयो। त्यहाँ पालिकाले जग्गा नपाएका कारण हिजो शिलान्यास हुन नसकेको उहाँको भनाई छ ।
यता धार्चे गाउँपालिकाको पनि उस्तै समस्या छ । धार्चेको सदरमुकाम माछाखोलामा निर्माण गर्ने भनिएको अस्पतालका लागि जग्गा प्राप्ती गर्न नसके पछि धार्चेले पनि सरकारी योजना मुताविक सोमबार अस्पतालको शिलान्यास गर्न सकेन । ‘अस्पतालका लागि जग्गा प्राप्त हुन नसकेकै उता धार्चे गाउँपालिकाले पनि अस्पतालको शिलन्यास गर्न नसकेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । जिल्लाको ८ स्थानिय तहमा निर्माण हुने भनिएको अस्पताल आधामा बन्ने निश्चित भएता पनि आधामा भने अनिश्चित जस्तै भएको छ । बुढीगण्डकी ढुवान क्षेत्रमा पर्ने आरुघाट गाउँपालिकाले पनि योजना मुताविक अस्पतालको शिलान्यास गरेन ।
आरुघाट बजारमा अस्पताल बनाउदा ढुवानमा पर्ने भए पछि भएकै अस्पताललाई रेक्टोफिड गरेर काम चलाउने र अन्य स्थानमा जग्गा लिने तयारी भई रहेको छ । ‘डुवानमा पर्ने भएका कारण आरुघाट क्षेत्रमा अस्पताल शिलान्यास नगरिएको तर आरुटार क्षेत्रमा अस्पतालका लागि जग्गा खोज्ने काम भईरहेको अध्यक्ष पुर्ण दाहालले जानकारी दिनुभयो । आरुघाट गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले दिलबहादुर रोक्का संयोजक रहने गरी ५ सदस्यीय जग्गा छनौट तथा ब्यवस्थापन समिति समेत गठन गरेको छ ।
बैठकले साता दिन भित्रै उपयुत्त जग्गाको खोजी गरी पालिकालाई सुझाव दिन भनेको समेत अध्यक्ष दाहालले जानकारी दिनुभयो । यता शिलान्यास हुन नसकेको भीमसेन थापा गाउँपालिकाको पनि समस्या उस्तै छ । पालिकाले अश्राङमा अस्पताल निर्माण गर्ने भनेता पनि जग्गा प्राप्ती गर्न अलि ढिला हुने भएपछि शिलान्यासको कार्यक्रम रद्व गरेको हो । ‘आज शिलान्यास गर्ने । भोली त्यही जग्गा दाताले दिएनन् भने समस्या हुने भएकाले जग्गा प्राप्ती पछि मात्र शिलान्यासको कार्यक्रम राख्छौ ।’ अध्यक्ष ईश्वर पाण्डेले भन्नुभयो । उहाँले एक साता दिन भित्रै जग्गाको निक्यौल गर्ने र शिलान्यासको काम पनि सम्पन्न गर्ने उहाँको भनाई छ ।
उता चुमनुब्री, अजिरकोट, बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकामा भने जग्गा प्राप्तीको काम सम्पन्न भएकोले सरकारी योजना अनुसार नै सोमबार नै शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । शिलान्यास सम्पन्न गरेको बारपाक सुलिकोटले हुडी खोलाको हुडी फाँटमा, अजिरकोटले भच्चेक बजारमा, चुमनुब्रीले सिर्दीबास र शहिद लखन गाउँपालिकाले ताक्लुङको केउरेनी अस्पतालको शिलान्यास गरेको हो ।