मुग्लिन, ११ मङ्सिर । त्रिशुली नदीमा पिकअप भ्यान खसेर दुर्घटना हुदाँ बेपत्ता भएका मध्ये २ जनाको शव फेला परेको छ । प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ स्थित नाग्दी खोलाबाट आज विहान ५ः ३० बजे करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।
भ्यानमा चालक सहित चार जना सवार रहेकोमा एक जना भने पौडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव भेटिएपनि एक जनाको अबस्था अझै अज्ञात छ । भ्यानमा सवार प्युठानका ३८ बर्षिय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल हुनुभएको हो । रोक्काको अवस्था अहिले मध्यम रहेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रक्ता डिएसपी सूर्य थापाका अनुसार चालक सूर्य केसी र जमुना रोक्काको शव फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले उनीहरुको शव भेटाएको हो । घटनास्थलमै नदीभित्र पिकअप भ्यान भेटिएको र भ्यानमा उनीहरुको शव फेला परेको हो । बर्ष १५ बालिका जिनिसा रोक्काको अबस्था भने अझै अज्ञात छ ।