Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

युट्ब हेरेर सिताके च्याउको खेती : आम्दानीबाट २२ जनाको परिवार पाल्छन् गोरखाका किसान


12.7K
Shares

युट्ब हेरेर सिताके च्याउको खेती : आम्दानीबाट २२ जनाको परिवार पाल्छन् गोरखाका किसान

गोरखा ६, मङ्सिर । गोरखाका एक किसानले सिताके च्याउको खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको गोरखा नगरपालिका–५, ठूलोरिपका स्थानीय कृषक सानुमाया थापामगरका परिवारले च्याउ खेतीबाट बार्षिक १२ लाख रुपैया भन्दा बढी आम्दानी गर्दै आएका हुन् । बजारमा राम्रो मूल्यमा बिक्रि हुने सिताके च्याउको व्यवसायिक खेतीले थापामगरको परिवारका २२ जना परिवार पालिदै आएका छन् ।

सुरु सुरुमा आफैले खानका लागि खेती गरेका थापामगरको परिवारले बिस्तारै यसलाई बढाउदै लगेर अहिले व्यवसायिक रुपमा सिताके च्याउ खेती गर्न थालेका हुन । ‘२०७२ साल माघ महिनाबाट खेती गर्न सुरु गरेको हो, अहिले करिब ५ बर्ष हुनै लाग्यो, कृषक थापामगरले भन्नुभयो, आम्दानी राम्रो भएकाले घरका २२ जना परिवार पाल्न समस्या परेको छैन ।’

सिताके च्याउको खेतीबाट सिजनका बेला दैनिक ५ हजार रुपैयासम्म आम्दानी गर्ने गरेको कृषक थापा मगरको भनाई छ । ‘राम्रो उम्रेकका बेला एकैदिनमा १० किलोसम्म उत्पादन हुन्छ, उहाँले भन्नुभयो, बजारमा माग बढि भएकाले पु¥याउन नै सकिदैन ।’ अहिले बजारमा प्रतिकिलो ५ सय रुपैयामा सिताके च्याउ बिक्रि हुने गरेको जानकारी उहाँले बताउनुभयो ।

उत्पादन भएका च्याउ बजार भन्दापनि वरपर र छरछिमेकलाई बिक्रि गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पु¥याउन अझै नपाएको कृषक थापामगरको भनाई छ । ‘बिशेष गरि मंसिरदेखि चैत महिनासम्म राम्रो उत्पादन हुनेगर्छ, उहाँले भन्नुभयो, बर्ष भरीमा यो चार महिनाको अबधीमा राम्रो कमाई हुन्छ ।’

थापामगरको परिवारले दुई वटा प्लास्टिकको घर निर्माण गरेर सिताके च्याउको खेती गर्दै आएका छन् । ति घरमा करिब १ हजार मुडामा सिताके च्याउ खेती गर्दैै आएको उहाँले बताउनुभयो । मुटु रोगीलाई फाइदा पुग्ने भन्ने सुनेकाले सुरु सुरुमा आफैले किनेर खाने गरेका थापामगरले बिस्तारै आफै सिताके च्याउको खेतीमा लागेका हुन् ।

‘पकाएर खाँदा अरु च्याउ भन्दा स्वादिलो र मिठो भएपछि आफैले खेती गर्ने सोच बनाए, कृषक थापामगरले भन्नुभयो, अहिले यही खेतीबाट परिवारलाई खाना लाउन र बालबच्चा पढाउन पुगेको छ ।’ थोरै लगानीमा सुरु गरेको च्याउ खेतीले राम्रो आम्दानी देला भन्ने नसोच्नु भएका थापामगरको परिवार अहिले राम्रो आम्दानी हुन थालेपछि सन्तुष्ट बनेका छन् ।

व्यवसायिक रुपमा च्याउ खेती गर्न थालेको ५ बर्ष भइसक्दा पनि कतैबाट पनि आर्थिक तथा प्राबिधिक सहयोग भने नपाएको उहाँले गुनासो गर्नुभयो । ‘ राम्रो संग तालिम पनि अहिलेसम्म लिन पाएको छैन, थापामगरले भन्नुभयो, श्रीमानले युट्युब हेर्नुहुन्छ, त्यही हेरेर कसरी खेती गर्न सिक्छौ र त्यसैको आधारमा काम गछौ ।’ सुरुमा काठको मुढामा च्याउको बिउ प्वाल पारेर रोपेपछि करिब ६ महिनापछि उत्पादन सुरु हुने कृषक थापामगरले जानकारी दिनुभयो ।

‘६ महिना ठ्याक्कै लाग्छ पहिलो पटक उत्पादन सुरु हुन, उहाँले भन्नुभयो, त्यसपछि निरन्तर ५ बर्षसम्म एकपटक रोपेको बिउले उत्पादन दिने हुँदा काम गर्न पनि त्यति झन्झटिलो पनि छैन ।’ सुरुमा राम्रो हुदैन कि भन्ने लागेको भएपनि अहिले उत्पादन र आम्दानी भएको देखेर आफुहरु सिताके च्याउको खेतीबाट सन्तुष्ट भएको कृषक थापामगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology