काठमाण्डौ ५, मङ्सिर ।प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं अगाडि मन्त्रिमण्डलमा केही हेरफेर गरे । नयाँ मन्त्रीहरु पनि थप गर्नुभयो । त्यस क्रममा सरकारमा दोस्रो वरियताका उपप्रधानमन्त्री इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्रीको कार्यालयको जिम्मेवारी दिनुभयो ।
पोखरेल त्यस्तो बेलामा रक्षामन्त्रीबाट हटाइए जतिबेला भारतीय सेनापति एम एम नरवणे नेपाल भ्रमणमा आउँदै हुनुहुन्थ्यो । पोखरेलले विगतमा नरवणेको सार्वजनिक रुपमा आलोचना गर्नुभएको थियो । कालापानीको सीमा विवादमा नरवणेको अभिव्यक्तिपछि पोखरेल बोल्नु भएको थियो । त्यसप्रति भारत निकै रुष्ट भएको थियो ।
बिहिबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले पोखरेलाई रक्षामन्त्रीबाट हटाएर ओलीले भारतलाई सकारात्मक सिग्नल गरेको उल्लेख गरेको छ । उसले लेखेको छ, ‘उनले (प्रधानमन्त्रीले) भारतीय सेनापतिप्रति आलोचनात्मक इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाउनु केही मात्रामा भारतलाई सकारात्मक संकेत दिएको देखिन्छ ।
पोखरेललाई रक्षामन्त्रीबाट हटाएर आफैले मन्त्रालयको जिम्मेवारी ओलीले लिनुभएको छ। उहाँले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका बेलामा नरवणेसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको थियो । यसले पनि भारत इश्वर पोखरेलसँग रुष्ट भएको र नरवणेले उहाँलाई सहज नमानेको खुलेको छ । जसका कारण पोखरेललाई हटाएर ओलीले नरवणेलाई सहज बनाईदिनु भएको थियो । यसलाई भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने सिग्नल मानिएको छ ।
यसैगरी, टाइम्स अफ इन्डियाले रअ प्रमुख सामन्त गोयलसँग प्रोटोकल मिचेर गरेको भेटवार्ताको बारेमा समेत उल्लेख गरेको छ । यसलाई ओलीको भारतसँग सम्बन्ध सुदृढ बनाउने पहलका रुपमा विश्लेषण गरेको छ ।