गोरखा ४, मङ्सिर । एसियाली बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँका आँबुखैरेनी देखी पोखरा सम्म ४ लेनको सडक बिस्तार हुने भएको छ ।सरकारले यसै आवमा आँबुखैरेनी देखी पोखरा सम्मको सडक विस्तार कार्य सुरु गर्ने भएको हो ।उत्त सडक मार्ग साघुरो भएको भन्दै ४ लेनमा सडक बिस्तार गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय जनाएको छ। ८० किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडक खण्डलाई ४०–४० किलोमिटरको २ प्याकेजमा निर्माण गर्ने गरी बोलपत्र आह्वान समेत गरि सकिएको छ।
२ खण्डमा भएको बोलपत्र आब्हानमा ३५ वटा कम्पनीले प्रस्ताव पेस गरेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार यसै बर्षको फागुन–चैत भित्रमा ठेक्का सम्झौता गरी निर्माण सुरु हुनेछ।मुग्लिनदेखि आँबुखैरेनीसम्म खण्डको डीपीआर निर्माणको क्रममा छ । मुग्लीन देखी पोखरा सम्मकै सडकको डिपीआर कोरियाली परामर्शदाता केईसीसीले तयार गरिसकेको छ । मुग्लिन–आँबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह भएका कारण जलविद्युत् गृहलाई हानी नहुने गरी गोरखा जिल्लातर्फबाट सडक विस्तार गर्न लागिएको आयोजनाले जनाएको छ ।
मस्र्याङ्दी नदीको अर्को किनाराबाट सडक निर्माण गर्ने गरी प्रारम्भिक डिजाइन तयार पारेको छ। मन्त्रिपरिषद्ले २०७५ चैतमा रेखांकन परिवर्तन गर्न स्वीकृति प्रदान गरिसकिएको छ।आँबुखैरनी–पोखरा सडक खण्ड निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । एडीबीले एसियाली राजमार्ग मापदण्डअन्तर्गत सडक निर्माण गर्न २१ अर्ब ४५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन सरकारसँग सम्झौता गरिसकेको छ। बाँकी अपुग रकम नेपाल सरकारले व्यहोर्नेछ।
आँबुखैरनी–पोखरा सडकखण्डमा रहेको घनाबस्ती भएको ठाउँमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ ७÷७ मिटरको हुनेछ।मुख्य सडकलाई एक अर्काबाट छुट्ट्याउन ३ मिटरको डिभाइडर निर्माण गरिने भएको छ। आकस्मिक अवस्थामा सवारी रोक्न २।५ मिटरको सोल्डर र सडकको दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन हुनेछ । ढल व्यवस्थापनका लागि दुवैतर्फ २÷२ मिटर छुट्ट्याइएको हुन्छ भने पैदल यात्रुका लागि १÷१ मिटरको फुटपाथ निर्माण हुने भएको छ।यो सडक खण्डमा पर्ने मादी र सेती नदीमा सिग्नेचर पुल पनि बनाउने आयोजनाको तयारी छ।