गोरखा १, मङ्सिर । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न सुरु भएको छ । मौसममा बदली आएसंगै गएरातीदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमा लगायतका क्षेत्रमा हिमपात पर्न सुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी जानकारी दिनुभयो ।
हिमपात पर्न सुरु भएसंगै जनजिवन प्रभावित हुन थालेको उहाँले बताउनुभयो । ‘हिमपात सगै चिसो पनि बढ्न थालेको छ, लामाले भन्नुभयो, ‘दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।’ उहाँले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिनुभयो ।
‘मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ, स्थानीयबासी लामाले भन्नुभयो,‘ हिमपातका कारण आवासिय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाई भएको छ ।’ अहिले प्रोक भन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बिरबहादुर लामाले जानकारी दिनुभयो ।
हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो अवरुद्ध समेत अबरुद्ध भएको उहाँले बताउनुभयो । ‘हिजोसम्म अबस्था सामान्य नै थियो, वडाध्यक्ष लामाले भन्नुभयो, गएराती एक्कासी हिमपात सुरु भएपछि माथिल्लो क्षेत्रको जनजिवन प्रभावित भएको छ ।’