बैतडी २८, कात्तिक । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन् । बस सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुने दुई जनाको मात्रै सनाखत भएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया किर्तीका कार्की र बैतडीको दोगाडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्दको सनाखत भएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा घाइते ८ जनालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ ।
डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।