गोरखा २७, कात्तिक । जिल्ला प्रसासन कार्यालय गोरखाले कोरोना संक्रमणको बढदे अबस्थालाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर चाड पर्व मनाउन अपिल गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आज जारी गर्नुभएको एक सार्वजनिक सूचनामा दिपावली, नेपाल सम्बत, छठ, तथा ल्होसार पर्वमा शान्तिपूर्ण रुपमा सुरक्षित ढंगले मनाउन आग्रह गरिएको हो ।
सूचनामा चाडपर्वका बेला मादक पर्दाथ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भंग गर्ने, जुवातास खेल्ने, पटका आतिसबाजी तथा भुईचम्पा पड्काउने जस्ता कार्य नगर्न नगराउन पनि भनिएको छ । त्यस्तै इजाजत प्राप्त मदिरा व्यवसायीहरुलाई ढिलोमा बेलुकी ७ बजेसम्म मात्र मदिरा बिक्रि गर्न गर्न प्रसासनले निर्देशन दिएको छ ।
प्रसासनले कोही कसैले पनि घरेलु अबैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न सूचित गरेको छ । प्रसासनले जारी गरेको सूचनामा कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि चाडपर्व मनाउदा आफु र आफ्नो परिवारमा बसेर मात्र मनाउन, देउसी भैलो खेल्ने, सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, शुभकामना आदान प्रदान कार्यक्रम राख्ने, पिङ हाल्ने तथा खेल्ने जस्ता क्रियाकलाप नगर्न पनि भनेको छ ।
त्यस्तै घरमा बस्दा समेत अनिबार्य मास्कको प्रयोग गर्न, सावुन पानीले नियमित हातमुख धुन, सेनिटाइजरको प्रयोग गर्न, आबश्यक भन्दा बाहेक घर बाहिर ननिस्कन तथा निस्कनै परे अनिबार्य मास्कको प्रयोग गर्न पनि प्रसासनले सूचना मार्फत सवैलाई आग्रह गरेको छ । प्रसासनको निर्देशनको अबज्ञा गरे वा सूचना बिपरिता क्रियाकलाप गरे गराइएको पाईए स्थानीय प्रसासन ऐन २०२८ बमोजिम तथा रोग तथा संक्रामक ऐन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ ।