गोरखा २७, कात्तिक । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिड्नका लागि करिब ३ किलोमिटर भिरमा थालिएको भइरहेको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बर्षौदेखि छङ्गाछुर भिरमा भुण्डिएर हिड्नुपर्ने भालुवनबासीहरुका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य परियोजनाले पूर्णिमाको कार्यक्रमसँगको साझेदारीमा सुरु गरेको बाटो निर्माणको अन्तिम चरणमा पुगेको वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो ।
३ दशमलब २३ किलोमिटर दुरीमा ढुङ्गाको सिढी बनाएर करिब ४ फिट चौडाईको बाटो निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । ‘कतै सिमेन्ट लगाएर ढलान गरिएको छ, जसरी सजिलो हुन्छ, त्यसरी नै बलियो हुने गरि काम भइरहेको छ, वडाध्यक्ष गुरुङले भन्नुभयो, तिहार लगत्तै निर्माण कार्य सम्पन्न हुन्छ ।’ नयाँ निर्माण गरिएको बाटोमा समेत छङ्गाछुर भिर भएको करिब ४३६ मिटर भागमा भने रेलिङ बनाएर जाली लगाउने काम भइरहेको उहाँले बताउनुभयो ।

‘भिरमा सानो गोरेटो बाटोमा ज्यानको जोखिम मोलेर स्थानीयबासीहरु आउजाउ गर्नुपर्छ, हरेक बर्ष जसो एकदुई जनाले त खसेर ज्यान गुमाउनु पर्ने बाध्यता छ, उहाँले भन्नुभयो, बाटो नबनेसम्म अन्य पैदलबाटो समेत नहुदा यहाँका नागरिकहरुले हैरानी खेप्दै आउनु परेको छ ।’ बन्दाबन्दीका कारण बाटो निर्माणमा ढिलाई भएको भएपनि अहिले निर्माणको काम करिब करिब अन्तिम चरणमा पुगेको वडाध्यक्ष जानकारी दिनुभयो ।
‘साधुरो बाटो भिरबाट खसेमा कतै रोकिने ठाउँसमेत छैन, उहाँले भन्नुभयो, एकैचोटी दुधपोखरी खोलामा पुग्ने अबस्था छ, मान्छे त के ढुङगा समेत बिचमा अड्किने ठाउँ छैन ।’ अहिले हिडिरहेको बाटोको चौडाइ मुस्कीलले एक फिट मात्रै भएपनि भालुवनका नागरिकलाई अन्य बैकल्पिक बाटो नभएकाले ज्यानै जोखिममा राखेर हिड्नु पर्ने बाध्यता रहेको हो । बाटो निर्माणसंगै त्यहाँका स्थानीयबासीहरुले रोजगारी समेत पाएका छन् ।

‘बाहिरका मानिसहरुले आएर काम गर्न सक्ने अबस्था छैन, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘विश्व खाद्य परियोजनाबाट काम पनी बन्ने भयो, कामसंगै स्थानीयबासीले रोजगारी पनि पाइरहेका छन् ।’ बाटो निर्माण सम्पन्न भएपछि अकालमा ज्यान गुमाउनु पर्ने भालुवाङबासीको बाध्यताको समेत अन्त्य हुने उहाँको भनाई छ । मनासलु संरक्षण क्षेत्र भित्र रहेको उक्त बाटो तिहार लगत्तै निर्माण सम्पन्न हुने निर्माणमा खटिएका इन्जिनियर आशिष श्रेष्ठले बताउनुभयो ।