गोरखा २६, कात्तिक । गोरखा जिल्लाको विकट हिमाली क्षेत्र रहेको चुमनुब्री गाउँपालिकामा केही समय भित्रै फोरजी सेवा सुरु सञ्चालनमा आउने भएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीले उत्तरी गोरखाका २ गाउँपालिका धार्चे र चुमनुब्रीमा टेलिकमले सेवा नदिएको भन्दै पटक पटक साँसदमा ध्यानाकर्षण गराएसँगै अघिल्लो वर्ष धार्चे गाउँपालिकामा टेलिकमको फोनसेवा सुधार भएको थियो ।
यस वर्ष चुमनुब्री गाउँपालिकाको सिर्दीवास स्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लो टावर निर्माण गरी फोरजी सेवा प्रदान गर्न लागिएको नेपाल टेलिकम गोरखा शाखा प्रमुख राजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
टावर कसरी राख्ने भन्ने बारेमा स्थलगत अध्ययनको क्रममा आफूहरु सम्बन्धित क्षेत्रमा आइपुगेको विहीबाट प्राविधिक सुदिप अर्यालले जानकारी दिनुभयो । हेलिकप्टरबाट समान ल्याएर दुइ महिना भित्र टावरको काम सक्छौँ त्यसपछि फोरजी इन्स्टलेसनको काम सुरु हुने उहाँको भनाई छ ।
फोरजी सेवा सुरु भएपछि नेटबाट गरिने सम्पूर्ण कारोवार सजिलै गर्न सकिने उहाँले बताउनुभयो । फोरजीको काम कन्सल्टेन्सिलाइ दिएको हुनाले ढिलोमा तीन महिना भित्र सेवा सुचारु हुने गोरखा शाखा प्रमुख श्रेष्ठको भनाइ छ । फोरजी बारे जानकार प्राविधिकहरु काठमाण्डौ, पोखरा, धादिङ, गोरखा लगायतका जिल्लाबाट टावर राख्ने स्थानमा पुगेको अर्यालले बताउनुभयो ।
यस अघि उत्तरी गोरखामा इन्टरनेटको सहज पहुँच नहुँदा महँगो शुल्क तिरेर इन्टरनेट सेवा लिनुपर्ने र सेवा भरपर्दो नभएकाले फाइल डाउनलोड, अपलोड गर्नका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । इन्टरनेट सहज सुविधा नभएकै कारण पालिकामा काम गर्न तोकिएका बैकले समेत आफ्नो सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।