एजेन्सी २५, कात्तिक । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनले कोरोना महामारीसँग लड्नका लागि कोभिड–१९ टास्क फोर्सको गठन गर्नुभएको छ । १३ सदस्यीय टास्क फोर्समा तीन जना को–चेयर र १ जना सदस्य रहेका छन् । टास्क फोर्सले वैज्ञानिक र विज्ञहरुसँग सल्लाह लिएर काम अघि बढाउने छन् ।
बाइडेनले कोरोना महामारीसँग लड्नु आफ्नो प्रशासनको पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समय अमेरिकामा कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै यस चुनौतीको सामना गर्न र मानिसलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनु पनि प्राथमिकताको विषय रहेको बताउनुभयो । बीबीसीका अनुसार कोभिड–१९ टास्क फोर्सको नेतृत्वकर्ता सरकारी एजेन्सीका प्रमुख एवं इम्यूनोलोजिस्ट डाक्टर रिक ब्राइट रहेका छन् ।
फोर्सलमा सहभागि मेडिकल एक्सपर्टले कोरोना विरुद्धको समग्र अवस्थामा निगरानि गर्ने छ । कोरोना महामारीसँग लड्नका लागि सरकार मात्रै नभई नागरिकले पनि भूमिका निर्वाह गर्नुपर्ने र सरकारले तोकेका स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बाइडेनको भनाइ छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले कोरोना महामारी नियन्त्रणका लागि गठन गरेका कोभिड–१९ टास्क फोर्सलाई खारेज गरिदिनुभएको थियो ।