काठमाण्डौ २५, कात्तिक । सरकारले गत आर्थिक वर्षदेखि जुनसुकै पुस्तक आयातमा लगाउदै आएको १० प्रतिशतका भन्सार महसुल कर हटाइएको छ । गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गर्नुभएको थियो ।
अघिल्लो वर्षसम्म नेपाली प्रकाशकले विदेशमा छपाइ गरी यहाँ ल्याउँदा छपाइ मूल्यमा १५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो । अन्य पुस्तक आयात गर्दा भन्सार नै लाग्दैन थियो । गत वर्षबाट एमआरपीमै १० प्रतिशतका दरले भन्सार महसुल लगाइदिएपछि पुस्तक आयात घटेको छ ।
नेपाली प्रकाशकले विदेशमा लगेर पुस्तक छाप्ने, छपाइ मूल्यलाई न्यून मूल्यांकन गरेर १५ प्रतिशत भन्सार महसुलसमेत छली गरिरहेका दाबी गर्दै सबै पुस्तक एमआरपीमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरिएको खतिवडाले बताएका थिए । तर उनको निर्णयमा चौतर्फी आलोचना भएको थियो ।