Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मुख्यमन्त्री गुरुङको अनुगमनपछि सडक मर्मत, चल्न थाले गाडी


4.7K
Shares

मुख्यमन्त्री गुरुङको अनुगमनपछि सडक मर्मत, चल्न थाले गाडी

पोखरा १७, कात्तिक । अविरल वर्षाले लमजुङ रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडकका ठाउँठाउँमा पहिरो गयो । सबैभन्दा ठूलो पहिरो भन्ज्याङ भन्ने ठाउँमा गयो र सडक अवरुद्ध बन्यो । गाडीहरु आउजाउ गर्न सकेनन् । आफ्नै ठाउँ र निर्वाचन क्षेत्रमा सडक अवरुद्ध भइरहेको जानकारीपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफै सडक अनुगमनमा निस्किएर सडक मर्मतको काम अघि बढाउनुभएको थियो ।

असोज १६ गते प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित मुख्यमन्त्री गुरुङ बिग्रिएको सडकको अनुगमनमा जानुभएको थियो। स्वयं मुख्यमन्त्रीको गाडी पनि जान सकेन । लठ्ठी टेक्दै वन, भिरपाखा पखेराको बाटो हिँडेर सडकका खण्डखण्डको अवस्था उहाँले बुझ्नुभयो । सँगँसगै प्राविधिकहरु र सम्बन्धित जिल्ला कार्यालयलाई सडक तुरुन्तै मर्मतको निर्देशन गर्नुभयो ।

मुख्यमन्त्रीको त्यही अनुगमन र निर्देशनको परिणाम रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडक मर्मत भएको छ । कात्तिक १७ गते सोमबारदेखि उक्त सडकमा गाडीको आवातजावत सुचारु भएको हो । जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार भन्ज्याङ खण्डमा पहिरो गएको ठाउँको सडक मर्मत पूरा भएको छ ।

पहिरो गएको ठाउँमा तारजालीसहितको ग्याबिन वालसमेत लगाई सडक मर्मत गरिएको जानकारी इन्जिनियर गिरीले दिनुभयो । उहाँका अनुसार उपभोक्ता समिति गठन गरी सडक मर्मत गरिएको हो । गण्डकी प्रदेश सरकारले सडक मर्मतका लागि बजेट उपलब्ध गराएको पनि इन्जिनियर गिरीले बताउनुभयो । जनसहभागितासहित २१ लाख रुपैयाँ खर्चेर उक्त सडक मर्मत भएको हो । उक्त सडक मर्मत भएपछि लमजुङको डढुवा, टक्सार, गिलुङ, मालिङ लगायत ठाउँ जानेआउनेहरुका लागि सजिलो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology