Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

नेकपा कर्णालीको विवाद फर्कियो प्रदेशमै, केन्द्रलाई समेत असर


1.9K
Shares

नेकपा कर्णालीको विवाद फर्कियो प्रदेशमै, केन्द्रलाई समेत असर

काठमाण्डौ ६, कात्तिक ।  संघीय राजधानीमा एक साता लामो गृहकार्य र छलफल गर्दा पनि सहमति नजुटेपछि नेकपाको कर्णाली प्रदेश विवाद फेरि प्रदेश राजधानी सुर्खेतमै फर्केको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधानबारे मंगलबार परस्पर विरोधी फरक–फरक प्रेस नोट जारी गरेपछि कर्णाली प्रदेशको विवाद प्रदेश राजधानी सुर्खेतमै फर्किएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्तावपछि सुरु भएको कर्णाली प्रदेश सरकार विवाद मिलाउन दुई अध्यक्ष ओली र प्रचण्डले प्रदेश पार्टी नेतृत्वलाई २९ असोजमै काठमाडौं बोलाएका थिए । तर, त्यसबीच विभिन्न चरणमा छलफल भए पनि मंगलबार दुई अध्यक्ष ओली र प्रचण्डबीच समाधानको विकल्पमा विवाद देखिएपछि विवाद बोकेर प्रदेश पार्टी नेतृत्व सुर्खेतमै फर्केको छ । अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवाद प्रदेश सरकार र प्रदेश पार्टी नेतृत्वले समाधान गर्ने समझदारी भएको प्रेस नोट जारी गरेपछि मुख्यमन्त्री शाहीसहित वरिष्ठ नेता माधवकुमार नेपालनिकट प्रदेशका नेताहरू काठमाडौंबाट कर्णाली फर्किएका छन् ।

उता दुई अध्यक्षबीच चारबुँदे सहमति भएको दाबीसहित ओली पक्षले सहमति कार्यान्वयन हुनुपर्ने मुद्दा उठाएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको निर्देशनअनुसार २९ असोजमा कर्णाली प्रदेशका नेताहरू काठमाडौं आएका थिए । तर काठमाडौं आएपनि विवाद भने मिल्न सकेन । प्रदेशको विवादले केन्द्रमा समेत असर पारेको छ । केन्द्रमै विवाद टुङ्गिन नसक्दा त्यसको प्रभाव प्रदेशमा अझै बढ्ने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो । कर्णाली प्रदेशको विवाद सुल्झाउन दलका प्रमुख तीन नेताबीच नै फरक समिकरण देखिन थालेपछि त्यसले सरकार सञ्चालनमा समेत प्रभाव पर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology