गोरखा १, कात्तिक । गोरखाको कालिका मन्दिरमा रहेको दशै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्याालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो ।
कालिका भगवती मन्दिरमा २ पाथी र गोरखनाथ गुफामा १ पाथी जौको जमरा राखिएको प्रमुख भुसालले जानकारी दिनुभयो । यसअघि मूल दरबारको कैलास कोठाबाट भित्रि बाटो हुदै देवी भगवतीका सवारी गराउने प्रचलन रहदै आएको भएपनि भुकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलासकोठाको थपना गरी देवीको सवारी गराइएको उहाँको भनाई छ । जमरा राख्नुअघि मूलदरबारमा नै पानी घडी थपना गर्नुपर्ने प्रचलन रहेको भएपनि दरबार जिर्णेद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी थपना गरी घटस्थापना गरिएको उहाँले बताउनुभयो ।
गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ । बडादशैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसंगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहदै आएको छ । यस्तै घटस्थापनाका बिहानको शुभसाईतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो ।
मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण सोही अनुसार नित्य पुजा गरि जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिनुभयो । गणेश र कलस स्थापना गरि दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाई छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढी रहेका गोरखा जिल्ला भित्रका सवै शक्ति पिठहरुमा नित्य पुजा बाहेकका सर्व साधारणलाई पुजाआजा गर्न रोक लगाइएको छ ।
प्रसासनले सर्वसाधारणलाई मन्दिर प्रवेश गर्न रोक लगाएपछि घटस्थापनाका दिन ठूलो भीडभाड हुने जिल्लाका सवै जसो शक्तिपिठहरु मनकामना मन्दिर, कालिका मन्दिर, गोरखनाथ गुफा सुनसान जस्तै बनेको जस्तै छ ।