गोरखा २९, असोज । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले गोरखाको मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँले आज बिहान ६: १० बजे हिमालको चुचुरोमा पुग्न सफल हुनुभएको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
राजकुमार खालिफा संगै आरोहणदलमा सहभागी अन्य ५० जना भन्दा बढीले मनास्लु हिमालको सफल आरोहण गरेको उहाँले बताउनुभयो । राजकुमारको टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेको थियो।
आरोहण दलकोनेतृत्व विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा, १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजन बिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरिरहनु भएको छ ।
कुल ८,१६३ मिटर अग्लो मनास्लु हिमाललाई बिश्वमा किलर माउन्टेनको रुपमा पनि चिनिने गरिन्छ । राजकुमारको आरोहणको बन्दोबस्त सेभेनसम्मीट ट्रेक्स प्रालिले मिलाएको थियो ।