गोरखा २१, असोज । बहराईनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा गोरखाको मनास्लु हिमाल आरोहणका लागि आज आधार शिविर तर्फ प्रस्थान गर्नुभएको छ । विश्व चर्चित गोरखाको मनास्लु हिमाल आरोहणका लागि राजकुमार सहितको टोली आधारशिविर तर्फ गएको हो । राजकुमार खालिफा हिजो हेलिकप्टर मार्फत उत्तरी गोरखाको सामागाउँ पुगेको पुग्नु भएको थियो । ८ हजार १६३ मिटर उचाइको रहेको मनास्लु हिमाल विश्वमा किलर माउन्टेनको नामले परिचित छ ।
राजकुमार सहितको टोलीलाई सामागाउँका स्थायिनले हिजै परम्परागत भेषभूषा सहित स्वागत गरिएको चुमनुब्री गाउँपालिका १ का वडाध्यक्ष बिरबहादुर लामाले जानकारी दिनुभयो । आरोहणका लागि राजकुरमार सहितको टोली आज बिहान बेसक्याम्पतर्फ प्रस्थान गरेको उहाँको भनाई छ । आरोहण टोलीमा बहराइनको शाही परिवारका सदस्य, सुरक्षा टोली र नेपाल तथा नेदरल्यान्ड्सका आरोहण गाइड रहेका छन् ।
उक्त टोलीलाई हिमाल आरोहणका लागि सेभेन समिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ । अक्टोबर १५ देखि २० तारिखभित्र उक्त टोलिको हिमाल आरोहण गर्ने कार्यक्रम छ । आरोहण टोली केही दिन मनास्लु बेस क्याम्पमै रहने छन् । राजकुमारको आरोहण टोलीमा करिब १५० जना भन्दा बढी शेर्पा प्रत्यक्ष संलग्न रहने जनाइएको छ ।