दीपक श्रेष्ठ
गोरखा २, असोज । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ स्थित भुमेश्वर टोल बिकास संस्थाले वडा भित्र कोरोना भाइरस (कोभिड १९ ) संक्रमण फैलदै गएको भन्दै टोल भित्र उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपाउने निर्णय गरेको छ । टोल सुधार समितिका अध्यक्ष लिलाबहादुर श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको टोल सुधार समितिको बैठकले एकघरबाट अर्को घरमा जानुपर्ने अबस्था आएमा पनि अनिबार्य मास्क प्रयोग गर्नुपर्ने निर्णय गरेको हो ।
समितिको बैठकले सकेसम्म एकघरबाट अर्को घरमा पनि अनाबश्यक रुपमा नजाने र जानै पर्ने भए अनिबार्य मास्कको प्रयोग गर्नुपर्ने निर्णय भएको वडा सदस्य जीवन कुमालले जानकारी दिनुभयो । त्यस्तै अल्लोघर पल्लोघरमा समेत सामाजिक दुरी कायम गरेर बस्नु पर्ने निर्णय टोलसुधार समितिले गरेको उहाँको भनाई छ । ‘आफु पनि बाँच्न र परिवार तथा समुदायका अरुलाई बचाउनु अहिलेको आबश्यकता हो, वडासदस्य कुमालले भन्नुभयो, ‘टोल भित्र कोभिड १९ बाट सुरिक्षत हुने उपायको बारेमा जनचेतना फैलाउने काम पनि अव टोलसुधार समितिले नै गर्नेछ ।’
त्यस्तै नजिकिदै गरेको वडा दशै पर्वको अबसरमा दशै मनाउन बाहिरबाट घर आउने व्यक्ति अनिबार्य होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय टोलसुधार समितिले गरेको छ । समितिले दशैका बेला कुनै पनि जमघट हुने खालका कार्यक्रमहरु समेत गर्न रोक लगाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
‘बाहिरबाट जुन घरपरिवारमा आउने हो निजको परिवारले त्यही टोल बिकास संस्थालाई आउने व्यक्तिको बिबरण बुझाउनुपर्ने, दशैमा बाहिरबाट आएर १४ दिन क्वारेन्टिनमा नबस्ने व्यक्तिलाई खुल्ला हिडडुलमा रोक लगाउने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा वडासदस्य कुमाल, भिमेश्वर टोल बिकास संस्थाका सल्लाहकार समितिका संयोजक भरत श्रेष्ठ, सहसंयोजक रामबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।