भदौ २८, काठमाडौं । माओवादी द्वन्द्वकालमा विद्रोही पक्षबाट मारिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै वीर अस्पतालमा अनसनमै रहेका बेला निधन भएका गोरखाका नन्दप्रसाद अधिकारको शव ६ वर्षदेखि शिक्षण अस्पतालमा रहेको छ । उहाँको ६ असोज २०७१ मा निधन भएको थियो ।
सँगै अनसन बसेकी उहाँकी श्रीमती गंगामाया अधिकारी भने वीर अस्पतालमा ‘डेरा’ जमाएर बस्दै आउनु भएको छ । उहाँका पतिसँगै अस्पतालमा रहेको र पतिको निधन पछि पनि वीर अस्पतालमा बस्दै आउनु भएको छ । अस्पतालमा बस्न थालेको ९ वर्ष बितिसक्यो ।
गंगामायाले पछिल्लोपटक २०७५ असार २९ मा अनसन तोड्नु भएको थियो। तर, अन्त जाने ठाउँ नभएको भन्दै उहाँ ०७५ सालदेखि नै वीर अस्पतालको स्टाफ वार्डको क्याबिन नम्बर ७ मा बस्दै आउनु भएको छ ।
यही बीचमा सरकारले वीर अस्पतालमा कोभिडका बिरामीहरु राख्ने निर्णय गरेपछि गंगामाया समस्यामा पर्नुभएको छ । ‘म वीर अस्पताल कुरेर बसेको ९ वर्ष भयो, आज निस्किएर कहाँ जाने ? उहाँले भन्नुभयो, कोठासोठा भए बस्नुस् भन्नुभयो, । तर, मेरो कोठा छैन ।’आफ्नो एउटा छोराको हत्या भएको र अर्को छोरो जेलमा रहेको बताउँदै उनले भनिन्, अब म कहाँ जाऊँ ?’
अस्पताल प्रशासनले वीरका अरु बिरामीलाई सारेको ट्रमा सेन्टरको सातौं तलामा बस्न गंगामायालाई सुझाएको छ । तर, गंगामायाले समूहमा नबस्ने भन्दै क्याबिनमा बस्न चाहानु भएको छ। तर, ट्रमामा क्याबिन नरहेको अस्पताल प्रशासन बताउँछ । स्रोत अनलाइनखबर